[1] अब दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गर्यौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
[2] यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्यौ भने, यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुन्छ; नत्र ता तिमीहरूले व्यर्थैमा विश्वास गरेका छौ।
[3] किनकि मैले जे वचन पाएँ त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापको निम्ति मर्नुभयो,
[4] अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो,
[5] अनि उहाँ केफासकहाँ र त्यसपछि बाह्रजना चेलाहरूकहाँ देखा पर्नुभयो।
[6] त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरैजना अझै पनि जीवित छन् र कत्तिचाहिँ मरेर गए।
[7] तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
[8] अनि सबैभन्दा अन्तिममा मजस्तो अस्वभाविक रूपमा जन्मिएको व्यक्तिकहाँ पनि देखा पर्नुभयो।
[9] किनकि म ता सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, र मलाई प्रेरित भन्न पनि सुहाउँदैन, किनभने मैले परमेश्वरको मण्डलीलाई सताएको थिएँ।
[10] तर म आज जे छु, परमेश्वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएको छैन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर ममा भएको परमेश्वरको अनुग्रहको कारणले हो।
[11] यसैकारण मैले होस् अथवा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेका सन्देश यही हो, र तिमीहरूले विश्वास गरेको पनि यही नै हो।
[12] तर यदि मरेकाहरूबाट ख्रीष्ट पुनर्जीवित हुनुभयो भन्ने प्रचार भएको छ भने, तिमीहरू कतिले कसरी मरेकाहरू पुनर्जीवित हुँदैनन् भन्छौ?
[13] यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको होइन।
[14] अनि यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको होइन भने ता, हाम्रो प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो।
[15] त्योभन्दा बढी हामी परमेश्वरका झूटा साक्षीहरू ठहरिनेछौं, किनकि हामीले परमेश्वरले ख्रीष्टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्ने गवाही दिएका छौं। तर यदि उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्।
[16] किनकि यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ता ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको छैन।
[17] अनि यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ।
[18] त्यसो भए ख्रीष्टमा विश्वास गरेपछि मरेकाहरू पनि नष्ट भए।
[19] यदि ख्रीष्टमा भएको आशा यस जीवनको लागि मात्र हो भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय छौं।
[20] तर वास्तवमै ख्रीष्ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो।
[21] किनकि मृत्यु एकजना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनर्जीवन पनि एकैजना मानिसद्वारा आउँछ।
[22] जसरी आदमद्वारा सबै मरे, त्यसरी नै ख्रीष्टद्वारा सबैलाई जीवित पारिनेछ।
[23] तर हरेक आफ्नो क्रमानुसार: ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू जति सबै जीवित पारिनेछन्।
[24] त्यसपछि अन्त्य आउनेछ; जब उहाँले दुष्टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्वरलाई राज्य सुम्पनुहुनेछ।
[25] किनकि ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ।
[26] अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो।
[27] किनकि परमेश्वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्ट छ कि, “सबै कुरा” भन्नाले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुने परमेश्वर आफैचाहिँ त्यस अधीनतामा हुनुहुन्न।
[28] जब परमेश्वरले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफै पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्टको अधीनतामा राखिदिनुभएको छ, ताकि परमेश्वर सबै कुरामा सर्वेसर्वा होऊन्।
[29] यदि पुनर्जीवित नहुने भए, मरेकाहरूका निम्ति बप्तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै-हुँदैनन् भए, किन मानिसहरूले तिनीहरूका लागि बप्तिस्मा लिन्छन्?
[30] अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौं?
[31] म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भन्नुको मतलब, हाम्रा प्रभु ख्रीष्ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु।
[32] यदि मानवीय दृष्टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थें भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए त, “हामी खाऔं र पिऔं, किनकि भोलि ता हामी मरिहाल्छौं।”
[33] भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।”
[34] होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु, किनकि तिमीहरूमध्ये कतिले परमेश्वरलाई चिनेकै छैनौ।
[35] तर कतिले सोध्लान्, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? तिनीहरू कस्तो किसिमको शरीरमा आउनेछन्?”
[36] हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन।
[37] जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर ता रोप्दैनौ, तर एउटा बीउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्।
[38] तर परमेश्वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ।
[39] सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ।
[40] स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, अनि सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ।
[41] सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको, ताराहरूको अर्कै किसिमको, एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।
[42] मरेकाहरूको पुनर्जीवित हुने पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ।
[43] त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ।
[44] त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ। यदि प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ।
[45] यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो।
[46] पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो।
[47] पहिलो मानिस पृथ्वीको धूलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ।
[48] माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै छन्; स्वर्गीय मानिसजस्ता छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्।
[49] जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौं, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौं।
[50] दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न ता विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ।
[51] सुन, म तिमीहरूलाई एउटा रहस्य भन्छु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं;
[52] एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं।
[53] किनकि विनाशीले अविनाशी रूप धारणा गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ।
[54] जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्यु विजयमा निलिएको छ।”
[55] “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?”
[56] मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो।
[57] तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
[58] यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैं जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।