Skip to content
Opens in a new window
Listen to this chapter • 7:37

[1] तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर, विशेष गरेर अगमवाणी वरदानको लागि।

[2] किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ। वास्तवमा उसलाई कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्‍वरका रहस्यका कुराहरू बोल्दछ।

[3] तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।

[4] जसले अज्ञात भाषामा बोल्दछ उसले आफ्नो आत्मिक वृद्धि गर्छ, तर जसले अगमवाणी गर्छ उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।

[5] म तिमीहरू हरेकले अज्ञात भाषामाहरू बोलेको चाहन्छु, तर अज्ञात भाषाहरू भन्दा अझ बढी तिमीहरूले अगमवाणी गरेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्नुभन्दा अगमवाणी बोल्नु श्रेष्‍ठ हो।

[6] अब दाजुभाइ-दिदीबहिनीहरूहो, यदि म तिमीहरूकहाँ आएर अज्ञात भाषाहरूमा बोलें, तर मैले तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने तिमीहरूका लागि के फाइदा भयो र?

[7] बाँसुरी वा वीणा जस्ता निर्जीव वस्तुहरूले पनि ध्वनी निकाल्छन्। तर यदि ती वस्तुहरूलाई बजाउँदा भिन्‍न-भिन्‍नै सोरहरू दिएन भने कसरी धुन छुट्टयाउने?

[8] यदि तुरहीले पनि स्पष्‍ट ध्वनी दिएन भने युद्धको लागि को तयार हुने?

[9] तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। यदि तिमीहरूले अज्ञात भाषामा बुझ्न नसकिने शब्दहरूमा बोल्यौ भने, तिमीहरूले के भनिरहेका छौ भनी अरूहरूले कसरी बुझ्ने? तिमीहरूले त हावामा मात्र बोलिरहेका हुनेछौ।

[10] यो साँचो हो कि संसारमा धेरै किसिमका भाषाहरू छन्, तरै पनि तीमध्ये कुनै पनि भाषा अर्थहीन छैनन्।

[11] यदि मैले कसैले के भनिरहेको छ, सो बुझ्न सकिनँ भने म वक्‍ताको निम्ति परदेशी हुनेछु र वक्‍ताचाहिँ मेरो निम्ति परदेशी हुनेछ।

[12] तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूको तृष्णा गर्दछौ, ती वरदानहरूमा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर जसले मण्डलीको निर्माण गर्छन्।

[13] यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्‍तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।

[14] किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरें भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।

[15] यसकारण म के गरूँ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म आफ्नो दिमागले पनि प्रार्थना गर्नेछु, म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो दिमागले पनि गीत गाउनेछु।

[16] यदि तिमीहरूले आत्मामा मात्र परमेश्‍वरको प्रशंसा गरिरहेका हुन्छौ भने, तिमीहरूका बीचमा उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्‍ने? जब कि तिमीहरूले के भनिरहेका छौ, सो तिनीहरूले बुझेकै हुँदैनन्।

[17] तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यसले अर्को कुनै पनि व्यक्‍तिको आत्मिक वृद्धि हुँदैन।

[18] म परमेश्‍वरलाई धन्यवाद दिन्छु, कि तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरूमा बोल्दछु।

[19] तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो दिमागले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।

[20] दाजुभाइ-दिदीबहिनीहरूहो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व बन।

[21] व्यवस्थामा यसरी लेखिएको छ: “अन्य भाषाहरूमा र विदेशीहरूका मुखहरूद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तरै पनि तिनीहरूले मेरा कुरा सुन्‍नेछैनन्,” प्रभु भन्‍नुहुन्छ।

[22] यसकारण अज्ञात भाषाहरू विश्‍वासीहरूको निम्ति होइन, तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ, अविश्‍वासीहरूका लागि होइन, तर विश्‍वासीहरूका लागि हो।

[23] यसकारण यदि सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषामाहरू बोले भने, जिज्ञासुहरू अथवा विश्‍वास नगर्नेहरू कोही मण्डलीमा आए भने, के तिनीहरूले तिमीहरूलाई पागल भन्‍नेछैनन् र?

[24] तर यदि मण्डलीमा हरेकले अगमवाणी बोल्दैगर्दा कोही विश्‍वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने, उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्।

[25] अनि उनीहरूका हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्‍वरलाई दण्डवत् गर्नेछन् र यसो भन्दै आराधना गर्नेछन्, “परमेश्‍वर तिमीहरूका बीचमा साँच्‍चै हुनुहुन्छ!”

[26] तब दाजुभाइ-दिदीबहिनीहरूहो, हामी के भनौ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाई हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्।

[27] तर यदि कसैले अज्ञात भाषामा बोल्छ भने, दुई अथवा बढीमा तीनजनाले, क्रमानुसार बोलून्, तथा अर्थ खोल्ने व्यक्‍ति हुनैपर्छ।

[28] तर यदि अर्थ खोल्ने व्यक्‍ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्‍ति मण्डलीमा चूप बसोस् र आफैसँग र परमेश्‍वरसँग बोलोस्।

[29] अगमवक्‍ताहरू दुई वा तीन जना बोलून् र अरूहरूले चाहिँ तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।

[30] यदि त्यही समय छेवैमा बस्‍नेहरूमध्ये कसैलाई केही प्रकाश आयो भने, बोलिरहेको पहिलो वक्‍ता चूप लागोस्।

[31] तिमीहरू सबैले पालो-पालोसँग अगमवाणी बोल्न सक्छौ, ताकि हरेकलाई शिक्षा र उत्साह मिलोस्।

[32] अगमवक्‍ताहरूका आत्माहरू अगमवक्‍ताहरूकै अधीनमा हुन्छन्।

[33] परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ। प्रभुका पवित्र जनहरूका सबै मण्डलीमा भएजस्तै।

[34] स्त्रीहरू मण्डलीहरूमा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनतामा बसून्।

[35] यदि तिनीहरू केही कुरा सिक्न चाहन्छन् भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनकि स्त्रीहरूको लागि मण्डलीमा बोल्नु ठीक हुँदैन।

[36] के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो?

[37] यदि कसैले आफूलाई अगमवक्‍ता अथवा आत्मिक वरदान पाएको व्यक्‍ति सम्झन्छ भने, मैले तिमीहरूलाई जे लेखिरहेछु त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।

[38] तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन।

[39] यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, अगमवाणी बोल्ने उत्कट इच्छा राख र अज्ञात भाषाहरूमा बोल्ने विश्‍वासीहरूलाई नरोक।

[40] तर सबै कुरा सुहाउँदो र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।

1 कोरिन्थी — Chapters