[1] अब दाजुभाइ-दिदीबहिनीहरूहो, आत्मिक वरदानहरूबारे तिमीहरू अन्जान बस भन्ने म चाहन्नँ।
[2] तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
[3] यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्न सक्दैन।
[4] वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।
[5] सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ।
[6] कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
[7] सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
[8] परमेश्वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,
[9] अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू,
[10] अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
[11] यी सबै एउटै र उही आत्माका कामहरू हुन्, अनि यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
[12] जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै छन्, तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग पनि यस्तै हुन्छ।
[13] यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबैजनालाई एउटै आत्मा पिउन दिइयो।
[14] किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
[15] अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र?
[16] अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको होइनँ,” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र?
[17] यदि पूरा शरीर आँखा हुँदो हो ता, कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो ता, कहाँबाट सुँघ्ने?
[18] तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ।
[19] यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् ता, शरीर कहाँ हुनेथियो?
[20] यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।
[21] आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन। र शिरले खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन।
[22] बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झनै बढी आवश्यक हुन्छन्,
[23] अनि हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौं; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौं।
[24] हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी सँगै मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाओस्,
[25] ताकि विभाजन नभई, शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता राखून्।
[26] एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्।
[27] तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।
[28] मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, अनि आश्चर्यपूर्ण काम गर्नेहरू, अनि निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
[29] के सबैजना प्रेरितहरू हुन्? के सबैजना अगमवक्ताहरू हुन्? के सबैजना शिक्षकहरू हुन्? के सबैले आश्चर्यपूर्ण कामहरू गर्छन्?
[30] के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्?
[31] तर उत्तम वरदानहरूको इच्छा गर। म तिमीहरूलाई सर्वोत्कृष्ट तरिका देखाउँनेछु।