[1] अब यी कुराहरू तिमीहरूले लेखेका विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।”
[2] तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस् र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।
[3] पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्।
[4] पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ।
[5] पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ, ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एक होओ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
[6] म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु।
[7] तिमीहरू सबैजना मजस्तै रहेको म चाहन्छु। तर परमेश्वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ।
[8] अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ।
[9] तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
[10] विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।
[11] तर यदि अलग बस्न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्र भने फेरि पतिसँग मिलाप गरी बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
[12] अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैबाट: यदि ख्रीष्टमा विश्वासी कुनै भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छिन् भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
[13] अनि यदि ख्रीष्टमा विश्वासी कुनै स्त्रीको विश्वास नगर्ने पति छ, र पत्नीसँग बस्न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्।
[14] किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्र ता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए, तर अब तिनीहरू पवित्र छन्।
[15] तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ।
[16] हे पत्नी, तिमीलाई के थाहा, शायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, शायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
[17] प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु।
[18] कुनै मानिसको बोलावट हुँदा उसको अघिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्।
[19] खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञा पालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरो हो।
[20] हरेक व्यक्ति परमेश्वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा रहिरहोस्।
[21] तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर, तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर।
[22] किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने, अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने, अब ऊ ख्रीष्टको सेवक हो।
[23] तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन।
[24] दाजुभाइ-दिदीबहिनीहरूहो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरको बोलावट पाएको छ, त्यही अवस्थामा रहौ।
[25] अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन, तर प्रभुको कृपा पाएर विश्वासयोग्य भएको कारणले म यो सल्लाह दिन्छु।
[26] किनभने वर्तमान समयको सङ्कष्टको कारणले गर्दा मेरो विचारमा जो जस्तो अवस्थामा छ, ऊ त्यही अवस्थामै रहेको असल हुन्छ।
[27] यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज।
[28] तर यदि तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गर्छे भने त्यसले पाप गरेकी हुन्न। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु।
[29] दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो भनाइको तात्पर्य यो हो कि समय थोरै छ। अबदेखि उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूझैं जिऊन्;
[30] शोक गर्नेहरू, शोक नगर्नेहरू जस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरू जस्ता होऊन्; केही थोक किन्नेहरू, आफूसित केही नभएझैं होऊन्;
[31] संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
[32] म यही चाहन्छु कि तिमीहरू निष्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्न पारूँ भनी प्रभुकै बारेमा रुचि राख्दछ।
[33] तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ।
[34] अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्वरको कामबारे रुचि राख्छिन्: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे।
[35] यो तिमीहरूकै भलाइको लागि भन्दैछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन, ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।
[36] यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैं लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदै जाँदैछ भने, र उसलाई विवाह गर्नुपर्छझैं लाग्छ भने, उसले आफूले चाहेझैं विवाह गरोस्। यसमा उसले कुनै पाप गरेको हुँदैन। तिनीहरूले विवाह गर्नुपर्छ।
[37] तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने, यस्तो मानिसले पनि ठीकै गर्दछ।
[38] यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ उसले सही गर्छ, तर जसले उसलाई विवाह गर्दैन उसले अझ असल गर्छ।
[39] एउटी स्त्री आफ्नो पति बाचुन्जेल उसको अधीनतामा हुन्छे। तर यदि पति मर्यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे, तर त्यो मानिस प्रभुमा विश्वास गर्ने हुनुपर्छ।
[40] मेरो विचारमा यदि ऊ जस्तो छे त्यस्तै अवस्थामा रही भने सुखी हुन्छे, अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।