[1] यसरी तिमीहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका भण्डारे ठान्नुपर्छ।
[2] भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ।
[3] यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरो हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ।
[4] मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ।
[5] यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर; प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट पाउनुपर्ने प्रशंसा पाउनेछन्।
[6] अब दाजुभाइ-दिदीबहिनीहरूहो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले नफुल।
[7] कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?
[8] तिमीहरूले चाहेका कुराहरू अघि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं!
[9] किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएको मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौं।
[10] हामी ख्रीष्टका निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलवान् छौ। तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान।
[11] अहिले पनि हामी भोकाएका र तिर्खाएका छौं, हामी झुत्रे-झाम्रे छौं, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ।
[12] हामी आफ्नै हातले कठोर परिश्रम गर्छौं। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष दिन्छौं; जब हामीलाई सताइन्छ, हामी सहन्छौं।
[13] जब हामी निन्दित हुन्छौं, नम्रतापूर्वक जवाफ दिन्छौं। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौं।
[14] मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानहरूलाईझैं चेतावनी दिनलाई लेख्दैछु।
[15] ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्, किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु।
[16] यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी विन्ती गर्दछु।
[17] यसैकारण मैले मेरो छोरो तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छ, उसलाई तिमीहरूकहाँ पठाएको छु। उसले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछ, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
[18] म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कतिजना घमण्डी भएका छौ।
[19] तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ त्यो पनि म पत्तो लगाउनेछु।
[20] किनकि परमेश्वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ।
[21] तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?