Skip to content
Opens in a new window
Listen to this chapter • 5:29

[1] बिहान सबेरै मुख्य पूजाहारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।

[2] पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ ।”

[3] मुख्य पूजाहारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

[4] पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?”

[5] तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।

[6] अब चाडको समयमा पिलातसले सामान्‍यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।

[7] विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्‍याराहरूमध्‍ये त्‍यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।

[8] भीड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।

[9] पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्‍छौ ?”

[10] किनभने डाहको कारणले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।

[11] तर मुख्य पूजाहारीहरूले भीडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।

[12] पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्‍यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?”

[13] तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रुसमा टाँग्‍नुहोस् !”

[14] पिलातसले तिनीहरूलाई भने, “त्‍यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठूलो स्वरमा चिच्‍च्‍याए, “त्‍यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”

[15] पिलातसले भीडलाई सन्‍तुष्‍ट पार्न चाहे । त्‍यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।

[16] सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।

[17] तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।

[18] तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।

[19] तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।

[20] जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

[21] तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए ।

[22] सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्‍छः “खप्‍परको ठाउँ”) ।

[23] तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्‍यो पिउनुभएन ।

[24] तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्‍येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

[25] तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।

[26] तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”

[27] तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।

[28] [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२ः३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।

[29] त्‍यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्‍दिरलाई नष्‍ट गरेर तीन दिनभित्र नै निर्माण गर्थ्यौ त,

[30] आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !”

[31] त्‍यसै गरी, मुख्य पूजाहारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्‍यसले अरूहरूलाई त बचायो, तर आफैलाई बचाउन सक्दैन ।

[32] इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।

[33] छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।

[34] नवौँ घडीमा येशू ठूलो स्वरमा यसो भन्‍दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी ?” जसको अर्थ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, मलाई किन त्‍याग्‍नुभएको ?” भन्‍ने हुन्‍छ ।

[35] त्‍यहाँ उभिएकाहरूमध्‍ये केहीले यो सुनेर भने, “हेर, त्‍यसले एलियालाई बोलाउँदै छ ।”

[36] कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्‍यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”

[37] तब येशू ठूलो सोरले कराउनुभयो र प्राण त्‍याग्‍नुभयो ।

[38] मन्‍दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा च्यातियो।

[39] जब त्‍यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”

[40] त्‍यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्‍ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।

[41] उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।

[42] जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले

[43] अरिमाथियाका योसेफ त्‍यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्‍यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।

[44] येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्‍दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।

[45] जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।

[46] योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान खोपेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्‌गालाई गुडाएर छोपे ।

[47] मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।

मर्कूसले लेखेको सुसमाचार — Chapters