Skip to content
Opens in a new window
Listen to this chapter • 4:01

[1] उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्‍यहाँ एक जना हात सुकेको मानिस थियो ।

[2] उहाँले त्‍यसलाई शबाथको दिनमा निको पार्नुहुन्‍छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।

[3] येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”

[4] तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा खराबी गर्नु कुन उचित हुन्‍छ; जीवन बचाउनु वा नाश गर्नु कुन उचित हुन्‍छ ?” तर उनीहरू चुप लागे ।

[5] तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्‍यसले हात पसार्‍यो र येशूले त्‍यसका हातलाई पहिलेको जस्‍तै बनाइदिनुभयो ।

[6] तुरुन्‍तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्‌यन्‍त्र रचे ।

[7] तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

[8] यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भीड पछि लाग्यो र उहाँकहाँ आयो ।

[9] भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्‌गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।

[10] किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्‍यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।

[11] जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्‍याउँथे, अनि तिनीहरूले भन्‍थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”

[12] उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।

[13] उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए ।

[14] उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,

[15] अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।

[16] अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;

[17] जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;

[18] अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,

[19] अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दियो ।

[20] तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भए । त्‍यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।

[21] जब उहाँको परिवारले यसबारे सुने, तिनीहरू उहाँलाई फर्काएर ल्याउन गए, किनकि तिनीहरूले भने, “उहाँको मन बिग्रेको छ ।”

[22] यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्‍यसलाई बालजिबुल लागेको छ” र “त्‍यसले भूतहरूका मालिकद्वारा भूतहरू निकाल्छ ।”

[23] येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ ?”

[24] यदि राज्‍य आफैँमा विभाजित हुन्‍छ भने, त्‍यो राज्‍य टिक्‍न सक्दैन ।

[25] यदि घर आफैँमा विभाजित हुन्‍छ भने, त्‍यो घर टिक्‍न सक्दैन ।

[26] यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्‍यो टिक्‍न सक्दैन, तर त्‍यसको अन्‍त आएको हुन्‍छ ।

[27] तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्‍यसको घरमा पस्‍न र त्‍यसका सम्पत्ति चोर्न सक्दैन, त्‍यसपछि त्‍यसले त्‍यसको घर लुट्नेछ ।

[28] म तिमीहरूलाई साँचो साँचो भन्‍दछु, कि मानिसहरूका सन्‍तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्‍दा पनि क्षमा गरिनेछन्,

[29] तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्‍दा कहिल्यै क्षमा हुनेछैन, तर त्‍यो अनन्‍त पापको दोषी हुन्‍छ ।

[30] येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “ऊसँग अशुद्ध आत्मा छ ।”

[31] उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।

[32] एउटा भीड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”

[33] उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन् ?”

[34] उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !”

[35] जसले परमेश्‍वरको इच्‍छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”

मर्कूसले लेखेको सुसमाचार — Chapters