Skip to content
Opens in a new window
Listen to this chapter • 4:59

[1] ती दिनमा त्‍यहाँ फेरि एउटा ठुलो भीड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

[2] “यो भीडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्‍तर तीन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।

[3] यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्‍ये कोही धेरै टाढाबाट आएका छन् ।”

[4] उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ ?”

[5] उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ?” तिनीहरूले भने “सात वटा ।”

[6] उहाँले भीडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सात वटा रोटी लिनुभयो; धन्‍यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।

[7] तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्‍यसको लागि धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।

[8] तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।

[9] त्‍यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।

[10] त्‍यसपछि तुरुन्‍तै उहाँ चेलाहरूसँग डुङ्‌गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।

[11] तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।

[12] उहाँले आत्मामा सुस्केरा हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ ? साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”

[13] त्‍यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्‌गामा चढ्नुभयो र तालको पारिपट्टि जानुभयो ।

[14] अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्‌गामा एउटा भन्‍दा बढी रोटी थिएन ।

[15] उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होशियार बस ।”

[16] चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”

[17] येशू यसप्रति सजग हुनुहुन्‍थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ ? के तिमीहरू अझै महसुस गर्दैनौ ? के तिमीहरू बुझ्दैनौ ? तिमीहरूको हृदय यति कठोर भएको छ ?

[18] तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्‍दैनौ ? के तिमीहरूले सम्झँदैनौ ?

[19] जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”

[20] “अनि जब मैले चार हजारका बीचमा सात वटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”

[21] उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ ?”

[22] उहाँहरू बेथसेदामा आउनुभयो । त्‍यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्‍यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्‍ती गरे ।

[23] येशूले त्‍यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्‍यसको आँखामा थुक्‍नुभयो, र त्‍यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्‍यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ ?”

[24] त्‍यसले हेर्‍यो र भन्‍यो, “म मानिसहरू रुखहरू जस्‍तै हिँडेको देख्‍छु ।”

[25] उहाँले फेरि आफ्नो हात त्‍यसका आँखामा राख्‍नुभयो, र त्‍यस मानिसले त्‍यसका आँखा खोल्यो अनि त्‍यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्‍यसले सबै थोक स्पष्‍टसँग देख्यो ।

[26] येशूले त्‍यसलाई त्‍यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्‍यस सहरमा नपस ।”

[27] येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्‍पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्‍छन् ?”

[28] तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्‍ये एक’ भन्‍छन् ।”

[29] उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्‍छौ ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ”

[30] येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

[31] उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तीन दिनपछि फेरि मृत्‍युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।

[32] उहाँले यो स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।

[33] तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान ! तैँले परमेश्‍वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”

[34] त्‍यसपछि उहाँले भीड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्‍छ भने, त्‍यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्‍यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ ।

[35] किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ त्‍यसले त्‍यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्‍यसले यसलाई बचाउनेछ ।

[36] मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्‍छ र ?

[37] मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र ?

[38] यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ ।”

मर्कूसले लेखेको सुसमाचार — Chapters