Skip to content
Opens in a new window
Listen to this chapter • 5:11

[1] उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।

[2] जब येशू डुङ्‌गाबाट ओर्लंदै हुनुहुन्‍थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।

[3] त्‍यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्‍यसलाई रोक्‍न सकेको थिएन; त्‍यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।

[4] त्‍यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखिएको थियो । त्‍यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्‍यसको ठिँगुरोलाई तोडिदिन्‍थ्यो । त्‍यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

[5] हरेक दिन र रात डाँडाहरूमा र त्‍यो चिहान घारीमा चिच्‍च्‍याउँथ्यो र त्‍यसले धारिलो ढुङ्‌गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।

[6] जब त्‍यसले येशूलई टाढैबाट देख्यो, त्‍यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।

[7] त्‍यसले ठुलो स्वरमा कराएर भन्‍यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ ? म परमेश्‍वरको नाउँमा बिन्‍ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

[8] किनभने येशूले त्‍यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्‍यो मानिसबाट बाहिर निस्किआइज ।”

[9] उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो ?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”

[10] त्‍यसले उहाँलाई त्‍यस क्षेत्रबाट बाहिर ननिकालिदिन निरन्तर बिन्‍ती गर्‍यो ।

[11] त्‍यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,

[12] अनि तिनीहरूले यसो भन्‍दै उहाँसँग बिन्‍ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”

[13] उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।

[14] अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्‍यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू आए।

[15] तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्‍यसलाई लुगा लगाएर मन ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।

[16] भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्‍यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।

[17] अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।

[18] जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्‍थ्यो त्‍यो भूत लागेको मानिसले त्‍यो पनि उहाँसँगै जान उहाँलाई बिन्‍ती गर्‍यो ।

[19] तर येशूले त्‍यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”

[20] त्‍यसकारण, त्‍यो मानिस गयो र डेकापोलिसमा येशूले त्‍यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।

[21] येशू फेरि डुङ्‌गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।

[22] यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।

[23] उनले यसो भन्‍दै बारम्बार बिन्‍ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा परेकी छे । म तपाईंलाई बिन्‍ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”

[24] त्‍यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।

[25] त्‍यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।

[26] तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन खराब मात्र हुँदै गयो ।

[27] तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्‍यसैले, उहाँ भीडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।

[28] किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”

[29] जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन् ।

[30] येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्‍तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो ?”

[31] उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्‍छ, अनि तपाईं भन्‍नुहुन्‍छ ‘मलाई कसले छोयो’ ?”

[32] तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो ।

[33] ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्‍टो परिन् र सबै सत्‍यता उहाँलाई बताइन् ।

[34] उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्‍तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”

[35] उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्‍दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने ?”

[36] तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”

[37] उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।

[38] उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेका र विलाप गरिरहेका देख्‍नुभयो ।

[39] जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास हुन्छौ र रुन्‍छौ ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”

[40] उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा जानुभयो ।

[41] उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्‍छ, “सानी नानी, म तिमीलाई भन्‍दछु, उठ ।”

[42] तुरुन्‍तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्‍यन्‍तै चकित भए ।

[43] उहाँले त्‍यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनू भनी भन्नुभयो ।

मर्कूसले लेखेको सुसमाचार — Chapters