[1] जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू !”
[2] उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
[3] जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतून डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे,
[4] “हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन् ? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन् ?”
[5] येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होशियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
[6] मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
[7] जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
[8] किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
[9] आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
[10] तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
[11] जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
[12] दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् ।
[13] मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहनेछ, त्यो मानिसको उद्धार हुनेछ ।
[14] जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पढ्नेले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
[15] घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,
[16] र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
[17] तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू !
[18] यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
[19] किनकि त्यस बेला ठूलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।
[20] परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
[21] यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर ।
[22] किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् ।
[23] सचेत रहो ! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
[24] तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
[25] ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् ।
[26] त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् ।
[27] तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
[28] अञ्जीरको रूखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।
[29] त्यसै गरी, जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।
[30] साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।
[31] स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
[32] तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
[33] सचेत रहो ! होशियार होओ, किनभने त्यो कुन बेलामा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचिन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्ः होशियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...)
[34] यो त यात्रामा गएका एक जना मानिस जस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
[35] त्यसकारण, जागा रहो ! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।
[36] यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
[37] जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो !”