Skip to content
Opens in a new window
Listen to this chapter • 4:58

[1] फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । त्‍यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्‌गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए ।

[2] उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्‍तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

[3] “सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

[4] त्‍यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।

[5] अरू बिउहरूचाहिँ त्‍यति माटो नभएको ढुङ्‌गेनी जमिनमा परे । तिनीहरू तुरुन्‍तै उम्रिए, किनभने त्‍यहाँ माटो गहिरो थिएन ।

[6] तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

[7] अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

[8] अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणा भन्‍दा बढी फल फलाए ।”

[9] अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस् ।”

[10] येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्‍तको बारेमा उहाँसँग सोधे ।

[11] उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्‍यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्‍तहरूमा भनिएको छ ।

[12] त्‍यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्‍छन्, हो, तिनीहरूले सुन्‍छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”

[13] अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्‍त बुझ्दैनौ ? त्‍यसो भए, तिमीहरूले अरू दृष्‍टान्‍तहरू कसरी बुझ्‍नेछौ ?”

[14] बिउ छर्नेले वचन छर्छ ।

[15] वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्‍छन्, र तुरुन्‍तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्‍छ ।

[16] ढुङ्‌गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्‍छन्, तिनीहरूले यसलाई तुरुन्‍तै आनन्‍दसाथ ग्रहण गर्छन् ।

[17] तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्‌कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्‍तै ठेस खान्‍छन् ।

[18] अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्‍छन्,

[19] तर संसारको फिक्री, धन-सम्पत्तिको मोह र अन्‍य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्‍छन् र यो फलदायी हुँदैन ।

[20] असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्‍छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”

[21] येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।

[22] किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।

[23] यदि कसैको सुन्‍ने कान छ भने, त्‍यसले सुनोस् ।”

[24] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्‍छौ, किनभने त्‍यसमा ध्‍यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्‍यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।

[25] किनभने जोसँग छ, त्‍यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्‍यससँग भएको पनि खोसिनेछ ।”

[26] येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य जमिनमा बिउ छर्ने मानिस जस्‍तो हो ।

[27] ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्‍छ र बढ्छ ।

[28] जमिन आफैँले फल फलाउँछः पहिला टुसा पलाउँछ, त्‍यसपछि बाला लाग्छ अनि बालामा दाना लाग्छ ।

[29] जब अन्‍न पाक्छ, तुरुन्‍तै उसले त्‍यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”

[30] उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्‍यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्‍त प्रयोग गर्न सकिन्‍छ ?

[31] यो रायोको बिउको दाना जस्‍तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्‍ये यो सबै भन्‍दा सानो हुन्‍छ ।

[32] तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवा भन्‍दा ठुलो हुन्‍छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्‍यसको छहारीमा गुँड बनाउन सकून् ।

[33] यस्ता धेरै दृष्‍टान्‍तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

[34] अनि उहाँले दृष्‍टान्‍तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।

[35] त्‍यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “समुद्रको पारिपट्टि जाऔँ ।”

[36] त्‍यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्‍यो भीडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्‌गामा हुनुहुन्‍थ्यो । उहाँसँग अरू डुङ्‌गाहरू पनि साथमा थिए ।

[37] त्‍यहाँ भयङ्‌कर आँधी चल्न थाल्यो र छालहरू डुङ्‌गामा पस्‍न लागे, अनि डुङ्‌गा पानीले भरिन लाग्यो ।

[38] तर येशू डुङ्‌गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्‍यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?”

[39] अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्‍त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्‍यहाँ सन्‍नाटा छायो ।

[40] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?”

[41] तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्‍छन् ?”

मर्कूसले लेखेको सुसमाचार — Chapters