Skip to content
Opens in a new window
Listen to this chapter • 6:43

[1] उहाँ त्‍यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

[2] जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए ? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन् ?”

[3] “के यिनी सिकर्मी होइनन् र ? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनका बहिनीहरू हामीसित छैनन् र ?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।

[4] येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”

[5] केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्‍यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन ।

[6] तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।

[7] उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।

[8] र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्‍न दिनुभयो ।

[9] तर उहाँले चप्‍पल लगाउन र दुई वटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।

[10] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्‍यो ठाउँ नछोडेसम्‍म त्‍यहीँ बस ।

[11] यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्‍यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”

[12] तिनीहरू त्‍यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।

[13] तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

[14] हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्‍युबाट जीवित भई उठे । त्‍यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”

[15] अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्‍ये एक हुन् ।”

[16] तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन् !”

[17] किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।

[18] किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन भनेका थिए ।”

[19] तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्,

[20] किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्‍दा हेरोद विचलित हुन्‍थे, तरै पनि खुसीसाथ सुन्‍थे ।

[21] त्‍यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्‍म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।

[22] हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”

[23] तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्‍यको आधा भागसम्म पनि दिनेछु ।”

[24] तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”

[25] तिनी तुरुन्‍तै राजाकहाँ आइन् र यसो भन्‍दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्‍छु ।”

[26] राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।

[27] त्‍यसैले, राजाले आफ्ना रक्षकहरूमध्‍ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।

[28] सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।

[29] त्‍यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।

[30] अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।

[31] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।

[32] त्‍यसैले, उहाँहरू डुङ्‌गा चढेर निर्जन स्थानतिर जानुभयो ।

[33] तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरू भन्‍दा अगि नै त्‍यस ठाउँमा पुगे ।

[34] जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‌याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरू जस्‍तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।

[35] जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।

[36] उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

[37] तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ ?”

[38] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”

[39] उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो ।

[40] उनीहरू सय र पचासको समूह- समूहमा बसे ।

[41] जब उहाँले पाँच रोटी र दुई वटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्‍यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुई वटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।

[42] तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।

[43] तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।

[44] त्‍यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।

[45] उहाँका चेलाहरूलाई डुङ्‌गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँ भन्‍दा अगि जना लगाउनुभयो ।

[46] जब तिनीहरू गए, त्‍यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।

[47] साँझ पर्‍यो, र अब डुङ्‌गा समुद्रको बीचमा थियो, र उहाँ पाखामा एकलै हुनुहुन्‍थ्यो ।

[48] तिनीहरूलाई डुङ्‌गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।

[49] तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्‍थ्यो भनेर तिनीहरू चिच्‍च्‍याए,

[50] किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्‍तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”

[51] उहाँ तिनीहरूसँगै डुङ्‌गामा चढ्नुभयो, र बतास चल्न छोड्‌यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।

[52] किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर भएको थियो ।

[53] जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्‌गालाई त्‍यहीँ अड्‍याए ।

[54] जब उहाँहरू डुङ्‌गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्‍तै चिने ।

[55] तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्‍छ भनी तिनीहरूले सुने तिनीहरूले त्‍यहाँ-त्‍यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।

[56] जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्‍थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्‍ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्‍थे ।

मर्कूसले लेखेको सुसमाचार — Chapters