Skip to content
Opens in a new window
Listen to this chapter • 6:38

[1] येशू त्‍यो ठाउँ छोडेर यहूदियाको प्रान्‍त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भीड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्‍थ्यो ।

[2] अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्‍छेद गर्नु उचित हो ?”

[3] उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन् ?”

[4] तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्‍यागपत्र दिन र त्‍यसलाई पठाइदिन अनुमति दिए ।”

[5] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”

[6] तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’

[7] यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्‍छ,

[8] र दुई जना एउटै शरीर हुन्‍छन् ।’ त्‍यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।

[9] त्‍यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले अलग नगरोस् ।”

[10] उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”

[11] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्‍छेद गर्छ र अर्कीसँग विवाह गर्छ, उसले त्‍यसको विरुद्धमा व्यभिचार गर्छ ।

[12] र यदि तिनले आफ्नो पतिसँग विवाहविच्‍छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्‍यसले व्यभिचार गर्छ ।”

[13] अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।

[14] तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्‍य यस्तैहरूको हो ।”

[15] साँचो साँचो, म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्‍यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”

[16] त्‍यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्‌गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।

[17] उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्‍ती गर्‍यो, “हे असल गुरु, अनन्‍त जीवनको हकदार हुन मैले के गर्नुपर्छ ?”

[18] येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्‍दछौ ? परमेश्‍वरबाहेक कोही पनि असल छैन ।

[19] तिमी यी आज्ञाहरू जान्‍दछौः हत्‍या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”

[20] त्‍यो मानिसले भन्‍यो, “गुरुज्‍यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”

[21] येशूले त्‍यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्‍यसपछि आऊ र मेरो पछि लाग ।”

[22] तर यो भनाइको कारण त्‍यो निरुत्साहित भयो; त्‍यो धेरै दुःखित भएर त्‍यहाँबाट गयो, किनभने त्‍यससँग धेरै धन सम्पत्ति थियो ।

[23] येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्न अति कठिन छ !”

[24] चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ !”

[25] धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु भन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्‍छ ।”

[26] तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्‍यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?”

[27] येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्‍छ, तर परमेश्‍वरको लागि होइन । परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”

[28] पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्‍यागेर तपाईंलाई पछ्याएका छौँ ।”

[29] येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्‍याग्छ,

[30] त्‍यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्‍त जीवन पाउनेछ ।

[31] तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”

[32] उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्‍थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्‍थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।

[33] “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्‍यहाँ मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्‍यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।

[34] तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्‍युमा पुर्‍याउनेछन् । तर तीन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”

[35] जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्‍यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्‍छौँ ।”

[36] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्‍छौ ?”

[37] तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्‍ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”

[38] तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्‍दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ ?”

[39] तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।

[40] तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”

[41] जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।

[42] येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्‍दछौ ।

[43] तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्‍छा गर्छ, त्‍यो तिमीहरूका सेवक हुनुपर्छ ।

[44] र तिमीहरूमध्‍ये जो पहिलो हुने इच्‍छा गर्छ, त्‍यो सबैको दास हुनुपर्छ ।

[45] किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।

[46] उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठूलो भीडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।

[47] जब त्‍यसले येशू नासरी भन्‍ने सुने, त्‍यो कराउन थाल्यो र भन्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् !”

[48] धेरैले चुप लाग भनी त्‍यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्‍यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”

[49] येशू रोकिनुभयो र त्‍यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्‍यसलाई बोलाए, “साहस गर ! खडा होऊ ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्‍छ ।”

[50] त्‍यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।

[51] येशूले त्‍यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्‍छौ ?” त्‍यो दृष्‍टिविहीन मानिसले भन्‍यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्‍छु ।”

[52] येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्‍यो तुरुन्‍तै फेरि देख्‍न सक्यो र त्‍यो उहाँको पछिपछि लाग्यो।

मर्कूसले लेखेको सुसमाचार — Chapters