Skip to content
Opens in a new window
Listen to this chapter • 9:05

[1] यो निस्तार र अखमरी रोटीको चाड भन्‍दा दुई दिनअगि थियो । मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।

[2] किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्‌गा उत्पन्‍न नहोस् ।”

[3] जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्‍थ्यो, उहाँ टेबिलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् अत्तर सिङ्‌गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्‍यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्‍याइन्

[4] तर त्‍यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ ?

[5] यो अत्तरलाई तीन सय चाँदीका सिक्‍का भन्‍दा बढीमा बेच्‍न सकिन्‍थ्यो र गरिबहरूलाई दिन सकिन्‍थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।

[6] तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? तिनले मेरो निम्ति असल काम गरेकी छन् ।

[7] गरिबहरू तिमीहरूसँग सधैँ हुन्‍छन्, र तिमीहरू जहिले चाहन्‍छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।

[8] तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेक गरेकी छन् ।

[9] साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्‍छ, त्‍यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।

[10] अनि बाह्रमध्‍येका एक जना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ गयो, ताकि त्‍यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।

[11] जब मुख्य पूजाहारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्‍यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।

[12] अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्‍छ, ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस् ?”

[13] उहाँले आफ्ना चेलाहरूमध्‍ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ ।

[14] जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्‍यस घरको मालिकलाई भन, “गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु ?”

[15] उनले तिमीहरूलाई एउटा तयार भएको ठूलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्‍यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”

[16] चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभए जस्‍तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।

[17] जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।

[18] जब उहाँहरू टेबिलमा अडेस लागेर खाँदै हुनुहुन्‍थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मसँग खाइरहेकाहरूमध्‍ये एक जनाले मलाई धोका दिनेछ ।”

[19] उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन ?”

[20] येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्‍येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।

[21] मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार ! जसद्वारा मानिसका पुत्रलाई धोका दिइनेछ । त्‍यसको निम्ति त्‍यो त नजन्‍मेको भए नै असल हुने थियो ।”

[22] तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”

[23] उहाँले कचौरा लिनुभयो; धन्‍यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्‍यसबाट पिए ।

[24] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”

[25] साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्‍यमा यसलाई नयाँ गरी पिउँदिनँ ।

[26] जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो ।

[27] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन ।]

[28] तर म जीवित भई उठेपछि म तिमीहरू भन्‍दा अगि गालीलमा जानेछु ।”

[29] पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”

[30] येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”

[31] तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।

[32] उहाँहरू गेतसमनी भन्‍ने ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।”

[33] उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।

[34] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।”

[35] येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् ।

[36] उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्‍छा होइन, तपाईंको इच्‍छा पुरा होस् ।”

[37] उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ ? के एक घण्टा पनि जागा रहन सकेनौ ?

[38] जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ ।”

[39] उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।

[40] फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन् ।

[41] उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ ? भयो ! समय आएको छ । हेर ! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ ।

[42] उठ र जाऔँ । हेर, मलाई धोका दिने नजिकै छ ।”

[43] उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्‍येको यहूदा आइपुग्यो अनि त्‍योसँग मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठूलो हुल थियो ।

[44] अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्‌केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”

[45] जब यहूदा आयो, तुरुन्‍तै त्‍यो येशूकहाँ आयो र भन्‍यो, “रब्बी !” र त्‍यसले उहाँलाई चुम्बन गर्‍यो ।

[46] त्‍यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।

[47] तर त्‍यहाँ उभिनेहरूमध्‍ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पूजाहारीका नोकरको कान काटिदिए ।

[48] येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ ?

[49] जब म तिमीहरूसँग दैनिक हुन्‍थेँ र मैले मन्‍दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो ।”

[50] अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।

[51] एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्‍यसलाई पक्रे, तर

[52] उसले त्‍यो सूतीको कपडा त्‍यहीँ नै छाडे र नाङ्‌गै भागे ।

[53] तिनीहरूले उहाँलाई प्रधान पूजाहारीकहाँ लगे । त्‍यहाँ तिनीसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए ।

[54] अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पूजाहारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्‍यानो हुन आगो ताप्दै थिए ।

[55] अब, मुख्य पूजाहारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्‍युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।

[56] किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।

[57] कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,

[58] “यसले यसो भनेको हामीले सुन्‍यौँ, ‘हातद्वारा बनाइएका यो मन्‍दिर मैले नष्‍ट गर्नेछु, र तीन दिनमा हातविना नै बनाइएको अर्को मन्‍दिर मैले बनाउनेछु ।’ ”

[59] तापनि तिनीहरूको गवाही एकै मतको भएन ।

[60] प्रधान पूजाहारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?”

[61] तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पूजाहारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी परमधन्‍यका पुत्र ख्रीष्‍ट हौ ?”

[62] येशूले भन्‍नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्‍नेछौ ।”

[63] प्रधान पूजाहारीले आफ्नो लुगा च्‍याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र ?

[64] तपाईंहरूले ईश्‍वर-निन्‍दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ ?” अनि तिनीहरू सबैले मृत्‍युको योग्य भएकालाई झैँ दोष लगाए ।

[65] केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर् !” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।

[66] पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्‍ये एक जना तिनीकहाँ आई ।

[67] त्‍यो न्‍यानो हुन आगोको नजिक उभिँदा त्‍यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्‍यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ ?”

[68] तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्‍दछु । त्‍यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]

[69] तर नोकर्नीले उनलाई त्‍यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्‍छे पनि तिनीहरूमध्‍येकै एक जना हो ।”

[70] तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्‍यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै, तिमी पनि तिनीहरूमध्‍येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”

[71] तर उनले आफैँलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”

[72] तुरुन्‍तै भाले दोस्रो चोटि बास्यो । त्‍यसपछि पत्रुसले येशूले उनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।

मर्कूसले लेखेको सुसमाचार — Chapters