[1] यरूशलेमबाट आएका फरिसीहरू र केही शास्त्रीहरू उहाँको वरिपरि भेला भए ।
[2] तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
[3] (फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,
[4] जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
[5] फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन् ?”
[6] तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा ठीकसँग भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’
[7] तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।
[8] तिमीहरू परमेश्वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”
[9] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक !
[10] किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्चय नै मारिनेछ ।’
[11] तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्वरलाई चढाइएको छ) ।”
[12] तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।
[13] तिमीहरूले परमेश्वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
[14] उहाँले भीडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
[15] व्यक्तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्ने त्यस्तो कुनै कुरा छैन । व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
[16] (नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् ।
[17] जब येशूले भीडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो दृष्टान्तको बारेमा सोधे ।
[18] येशूले भन्नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ ? के तिमीहरू देख्दैनौ, कि बाहिरबाट मानिसभित्र पस्ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
[19] किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्केर शौचालयमा पुग्छ ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।
[20] उहाँले भन्नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै मानिसलाई अशुद्ध पार्छ ।
[21] किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
[22] व्यभिचार, लोभ, दुष्टता, छल, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
[23] यी सबै दुष्ट कुराहरू भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”
[24] उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र पस्नुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्न सक्नुभएन ।
[25] तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्टो परिन् ।
[26] ती स्त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।
[27] उहाँले तिनलाई भन्नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
[28] तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।”
[29] उहाँले तिनलाई भन्नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
[30] तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
[31] उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
[32] तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
[33] उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
[34] उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
[35] तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।
[36] उहाँले कसैलाई केही पनि नभन्नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।
[37] तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्ने र गुँगोलाई बोल्ने पनि तुल्याउनुहुन्छ ।”