Skip to content
Opens in a new window
Listen to this chapter • 5:49

[1] त्‍यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्‍तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्‍यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्‍यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्‍यसपछि उनी यात्रामा लागे ।

[2] ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

[3] तर तिनीहरूले त्‍यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।

[4] फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे ।

[5] अझै पनि उनले अर्कोलाई पठाए र त्‍यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्‍यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।

[6] उनीसँग पठाउन अझै पनि एक जना व्यक्‍ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्‍यो नै अन्‍तिम व्यक्‍ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।”

[7] तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।”

[8] तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

[9] यसकारण, दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।

[10] के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ ? ‘जुन ढुङ्‌गालाई निर्माणकर्ताहरूले इन्कार गरे, त्‍यही नै कुने-ढुङ्‌गो भएको छ ।’

[11] त्‍यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्‍टिमा आश्‍चर्यजनक छ ।”

[12] तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्‍यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।

[13] अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।

[14] तिनीहरू आए र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्‍छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?”

[15] तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्‍छौ ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ ।”

[16] तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो ?” तिनीहरूले भने, “कैसरको हो ।”

[17] येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए ।

[18] त्‍यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,

[19] “गुरुज्‍यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्‍यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्‍माउनुपर्छ ।’

[20] त्‍यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे ।

[21] दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्‍यस्तै भयो ।

[22] अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्‍तमा ती स्‍त्री पनि मरिन् ।

[23] पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए ।

[24] येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र ?

[25] किनभने जब तिनीहरू मृत्‍युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्‍छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।

[26] तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’ भन्‍नुभयो भन्‍ने पढेका छैनौ ?”

[27] उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ । तिमीहरू गलत छौ ।”

[28] शास्‍त्रीहरूमध्‍येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबै भन्‍दा महत्त्‍वपूर्ण आज्ञा कुन हो ?”

[29] येशूले जवाफ दिनुभयो, “सबै भन्‍दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्‍छ ।

[30] तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’

[31] दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्‍तै प्रेम गर्नुपर्छ ।’ यो भन्‍दा अरू कुनै ठुलो आज्ञा छैन ।”

[32] शास्‍त्रीले भने, “हे असल गुरुज्‍यू ! परमेश्‍वर एक मात्र हुनुहुन्‍छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ ।

[33] उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरू भन्‍दा पनि महान् हो ।”

[34] जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्‍यबाट टाढा छैनौ ।” त्‍यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।

[35] येशूले मन्‍दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्‍छन् ?

[36] दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातपट्टि बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’

[37] दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्‍छन् भने मसिह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भीडले उहाँको कुरा खुसीसाथ सुन्‍यो ।

[38] येशूले उहाँको शिक्षामा भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होशियार बस, जसले लामो वस्‍त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको,

[39] अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।

[40] तिनीहरूले विधवाहरूको घर लुट्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठूलो दण्ड पाउनेछन् ।”

[41] त्‍यसपछि येशू मन्‍दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठूलो रकम हाले ।

[42] त्‍यसपछि त्‍यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् ।

[43] उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्‍ये सबै भन्‍दा धेरै हालेकी छन् ।

[44] किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”

मर्कूसले लेखेको सुसमाचार — Chapters