[1] हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,
[2] जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।
[3] यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो,
[4] जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।
[5] यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।
[6] तिनीहरू दुवै जना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।
[7] तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।
[8] एकपल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए,
[9] तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्यो।
[10] अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए।
[11] त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।
[12] दूतलाई देखेर जकरिया आत्तिए र डराए।
[13] तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्ना राख्नू।
[14] तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्।
[15] किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।
[16] तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्।
[17] बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।”
[18] जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
[19] स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ।
[20] अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।”
[21] यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्क पर्दैथिए।
[22] जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।
[23] अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के।
[24] यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्।
[25] तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”
[26] एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।
[27] तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।
[28] स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”
[29] तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।
[30] तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ।
[31] सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।
[32] उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ।
[33] अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
[34] मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।”
[35] स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
[36] यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्।
[37] किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।”
[38] मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
[39] त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे।
[40] तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।
[41] एलीशिबाले मरियमको अभिवादन सुन्नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।
[42] अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ।
[43] तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई कसरी भयो?
[44] तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो।
[45] धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।”
[46] अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
[47] र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
[48] किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्,
[49] किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्।
[50] उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
[51] उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ।
[52] उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्च पार्नुभएको छ।
[53] उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ।
[54] उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ;
[55] उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।”
[56] मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।
[57] जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।
[58] तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्ने सुने, र तिनको आनन्दमा सँगै रमाए।
[59] आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए।
[60] तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्ना राखिनेछ।”
[61] तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।”
[62] त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्न उनलाई इशारा गरी सोधे।
[63] उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्क परे
[64] तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले।
[65] यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।
[66] यी कुरा सुन्नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।
[67] बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:
[68] “इस्राएलका परमेश्वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।
[69] उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति एउटा शक्तिशाली राजा, हाम्रा उद्धारको निम्ति पठाउनुभएको छ।
[70] जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो;
[71] हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्नलाई,
[72] हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई,
[73] जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,
[74] हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा,
[75] हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई।
[76] “अनि तिमी मेरो बालक, सर्वोच्चका अगमवक्ता भनिनेछौ। किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ।
[77] उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई,
[78] हाम्रा परमेश्वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ।
[79] अन्धकार र मृत्युको छायामा बस्नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।”
[80] बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।