Skip to content
Opens in a new window
Listen to this chapter • 6:37

[1] रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए,

[2] तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।

[3] तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए।

[4] जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।

[5] प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्।

[6] अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ”

[7] यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?

[8] पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।

[9] रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”

[10] त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?”

[11] यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”

[12] कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?”

[13] तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”

[14] त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”

[15] मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए।

[16] तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।

[17] उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”

[18] अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।

[19] तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए,

[20] तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।

[21] जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो।

[22] अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

[23] अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,

[24] हेली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा,

[25] योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,

[26] नग्गै माथका छोरा, माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,

[27] योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा,

[28] नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,

[29] एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा,

[30] लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,

[31] एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दावीदका छोरा,

[32] दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,

[33] नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,

[34] यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

[35] नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,

[36] शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा,

[37] लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,

[38] केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्‍वरका छोरा थिए।

लूका — Chapters