[1] त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो।
[2] उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
[3] जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।
[4] न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
[5] “जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
[6] यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
[7] तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
[8] “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।
[9] त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
[10] तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्लीहरूमा जाओ, र यसो भन,
[11] ‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्चय जान: परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’
[12] म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
[13] “धिक्कार, तँलाई, हे खोराजिन! धिक्कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।
[14] तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
[15] अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्।
[16] “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।”
[17] ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”
[18] उहाँले भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ।
[19] मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
[20] तापनि दुष्ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द गर।”
[21] त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।
[22] “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।”
[23] त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।
[24] किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्न इच्छा गरेका थिए, तर सुनेनन्।”
[25] एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
[26] उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
[27] तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’”
[28] येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।”
[29] तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
[30] जवाफमा येशूले भन्नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए।
[31] संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
[32] त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
[33] तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
[34] अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो।
[35] भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
[36] “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
[37] व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।”
[38] येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्।
[39] तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्।
[40] तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!”
[41] येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ।
[42] तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”