[1] येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो,
[2] अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
[3] तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”
[4] येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’”
[5] शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो।
[6] अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु।
[7] यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
[8] येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’”
[9] तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्।
[10] किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
[11] अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”
[12] येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’”
[13] शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो।
[14] येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो।
[15] उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।
[16] उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो।
[17] यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
[18] “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
[19] र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”
[20] त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए।
[21] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।”
[22] सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
[23] येशूले तिनीहरूलाई भन्नुभयो, “पक्कै तिमीहरूले मलाई यो दृष्टान्त भन्नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ”
[24] उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन।
[25] म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए।
[26] तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए।
[27] अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान मात्र निको पारिए।”
[28] यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए।
[29] तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे।
[30] तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।
[31] त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथको दिन मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।
[32] उहाँका शिक्षामा तिनीहरू छक्क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो।
[33] सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो,
[34] “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!”
[35] येशूले भूतआत्मालाई हकारेर भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो।
[36] सबै मानिसहरू छक्क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!”
[37] उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
[38] त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे।
[39] उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
[40] घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो।
[41] अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
[42] बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे।
[43] तर उहाँले भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।”
[44] अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।