Skip to content
Opens in a new window
Listen to this chapter • 3:01

[1] शब्बाथ दिन सकिएपछि येशूको शरीरमा घस्‍नलाई भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने।

[2] हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे।

[3] तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”

[4] तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे।

[5] जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे।

[6] तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।

[7] तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”

[8] स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।

[9] जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो।

[10] तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए।

[11] जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।

[12] यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो।

[13] यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्‍वास गरेनन्।

[14] त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।

[15] उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ।

[16] जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ।

[17] अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्,

[18] तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”

[19] प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो।

[20] तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।

मर्कूस — Chapters