Skip to content
Opens in a new window
Listen to this chapter • 6:56

[1] ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे।

[2] (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।)

[3] नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए।

[4] यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।

[5] उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।

[6] तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो,

[7] र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।

[8] त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए।

[9] त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।

[10] तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।

[11] आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ।

[12] अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

[13] तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो:

[14] “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”

[15] जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।”

[16] त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।

[17] जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।

[18] जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए।

[19] तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्।

[20] सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।

[21] आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।

[22] जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,

[23] (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”),

[24] अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।

[25] त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए।

[26] प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।

[27] त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,

[28] तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने:

[29] “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,

[30] किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,

[31] जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ;

[32] सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”

[33] बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे।

[34] त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्।

[35] जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”

[36] त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।

[37] तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।

[38] त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्।

[39] प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के।

[40] बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।

[41] येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे।

[42] जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो।

[43] चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।

[44] उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।

[45] उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के।

[46] तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए।

[47] उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए।

[48] जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”

[49] उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”

[50] तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।

[51] त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।

[52] अनि येशू बुद्धिमा, कदमा अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो।

लूका — Chapters