[1] एक शब्बाथको दिन येशू अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे।
[2] तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथको दिनमा उचित नहुने काम गरिरहेका छौ?”
[3] येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
[4] तिनी परमेश्वरको भवनभित्र पसेर परमेश्वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।”
[5] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शब्बाथ दिनको प्रभु हो।”
[6] अर्को शब्बाथको दिन उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो।
[7] फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथ दिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए।
[8] तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो।
[9] त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथको दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?”
[10] उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
[11] तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे।
[12] एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो।
[13] बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्:
[14] सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्ना, फिलिप, बारथोलोमाइ,
[15] मत्ती, थोमा, अल्फयसका छोरा याकोब, सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे,
[16] याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो।
[17] येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए।
[18] तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए।
[19] सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो।
[20] आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो।
[21] धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ।
[22] धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्; अनि दुष्ट ठानी तिमीहरूका नामलाई इन्कार गर्छन्।
[23] “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
[24] “तर धनीहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।
[25] अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू भोकमा पर्नेछौ। अहिले हाँस्नेहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
[26] तिमीहरूलाई धिक्कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए।
[27] “तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर।
[28] तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
[29] यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ।
[30] तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग।
[31] अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ।
[32] “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्।
[33] यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्।
[34] यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्।
[35] तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ। अनि तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ।
[36] तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ।
[37] “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
[38] देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”
[39] उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र?
[40] चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ।
[41] “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ?
[42] तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
[43] “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।
[44] हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्।
[45] असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
[46] “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ?
[47] जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु।
[48] त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो।
[49] तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”