[1] यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।
[2] अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।
[3] तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
[4] “मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ।
[5] तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।
[6] के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन।
[7] वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
[8] “म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ।
[9] तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।
[10] मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।
[11] “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर;
[12] किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।”
[13] भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”
[14] येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”
[15] त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
[16] त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।
[17] त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’
[18] “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु;
[19] अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’
[20] “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’
[21] “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
[22] त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।
[23] भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो।
[24] कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ!
[25] तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र?
[26] त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
[27] “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
[28] आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला!
[29] के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ।
[30] किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
[31] तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
[32] “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
[33] तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन।
[34] किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
[35] “सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख।
[36] अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्।
[37] यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
[38] मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ।
[39] तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन।
[40] तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”
[41] पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्टान्त हाम्रा लागि भन्नुभएको हो कि सबैका लागि?”
[42] तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?
[43] उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
[44] म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
[45] तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने,
[46] त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्वासीहरूको स्थान दिनेछन्।
[47] “त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ।
[48] तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
[49] “म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो!
[50] तर मैले लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!
[51] के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।
[52] अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन।
[53] तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।”
[54] उहाँले भीडलाई भन्नुभयो: “तिमीहरूले पश्चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ।
[55] अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ।
[56] ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
[57] “कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ?
[58] तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।
[59] म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।”