Skip to content
Opens in a new window
Listen to this chapter • 5:10

[1] येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।

[2] यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।

[3] त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।

[4] त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्‍यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”

[5] प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस्!”

[6] उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।

[7] “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?

[8] बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?

[9] सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?

[10] त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ”

[11] यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।

[12] उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;

[13] अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”

[14] तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।

[15] तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।

[16] येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।

[17] येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?

[18] के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”

[19] त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”

[20] फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,

[21] न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्‍नेछन्। किनकि परमेश्‍वरको राज्य त तिमीहरूभित्र नै छ।”

[22] त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।

[23] मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।

[24] किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।

[25] तर पहिले उसले धेरै कष्‍टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।

[26] “नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।

[27] नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

[28] “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।

[29] तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

[30] “मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।

[31] त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।

[32] लोतकी पत्नीलाई सम्झ!

[33] जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।

[34] म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।

[35] दुई स्त्रीहरू सँगसँगै अन्‍न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।

[36] दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”

[37] तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”

लूका — Chapters