[1] अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो।
[2] मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
[3] तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।
[4] अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो।
[5] यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।
[6] त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
[7] त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।
[8] येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
[9] तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”
[10] उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,
[11] त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’
[12] तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”
[13] तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
[14] जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो।
[15] अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ।
[16] किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”
[17] कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड।
[18] किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
[19] त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
[20] त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
[21] तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ।
[22] मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”
[23] तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
[24] तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो।
[25] येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्।
[26] तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
[27] किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।
[28] मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ।
[29] अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;
[30] ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।
[31] “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ।
[32] तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
[33] तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
[34] येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीनपल्ट अस्वीकार गर्नेछौ।”
[35] त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”
[36] उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन।
[37] यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”
[38] चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्नुभयो, “भयो, त्यति भए पुग्छ।”
[39] येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे।
[40] त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
[41] अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो,
[42] “हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!”
[43] स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए।
[44] अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।
[45] जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।
[46] उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
[47] उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो।
[48] तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्दछौ?”
[49] येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”
[50] अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
[51] तर येशूले भन्नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
[52] त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?
[53] म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”
[54] त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए।
[55] तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।
[56] तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
[57] तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
[58] केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”
[59] लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।”
[60] पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।
[61] अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्नुभएको यो वचन सम्झे: “आज भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
[62] तिनी बाहिर गए, र धुरुधुरु रोए।
[63] येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गर्न र पिट्न थाले।
[64] तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”
[65] अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने।
[66] उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।
[67] तिनीहरूले सोधे, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्वास गर्नुहुन्न।
[68] अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्न।
[69] तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिने हातपट्टि बस्नेछ।”
[70] तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्नुभयो।”
[71] त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”