Skip to content
Opens in a new window
Listen to this chapter • 10:15

[1] एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।

[2] अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।

[3] उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।

[4] जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।

[5] यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”

[6] तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।

[7] अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।

[8] कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे।

[9] तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।

[10] जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो।

[11] तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।

[12] दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”

[13] उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”

[14] (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।”

[15] अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे।

[16] ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।

[17] तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।

[18] एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”

[19] तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”

[20] उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!”

[21] येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।

[22] अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”

[23] त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।

[24] किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।

[25] यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?

[26] यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।

[27] “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”

[28] येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।

[29] उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।

[30] दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।

[31] तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।

[32] पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।

[33] मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।

[34] तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।

[35] बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”

[36] यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।

[37] भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।

[38] भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।

[39] एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।

[40] त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”

[41] येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”

[42] त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।

[43] तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्‍क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

[44] “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”

[45] तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।

[46] चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो।

[47] येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।

[48] त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”

[49] यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”

[50] येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”

[51] जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।

[52] उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।

[53] तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।

[54] उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”

[55] तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,

[56] र उहाँहरू अर्कै गाउँतिर जानुभयो।

[57] उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”

[58] येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”

[59] उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”

[60] येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”

[61] अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”

[62] येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।”

लूका — Chapters