[1] येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।
[2] उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्का चढाएकी पनि देख्नुभयो।
[3] उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।
[4] अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”
[5] जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्नुभयो,
[6] “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
[7] तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्ने चिन्ह के हुनेछ?”
[8] उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
[9] जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
[10] त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
[11] धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
[12] “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ।
[13] यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ।
[14] तर आफ्नो बचाउका लागि के भन्ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्चय गर।
[15] किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
[16] तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्।
[17] अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्।
[18] तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन।
[19] स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ।
[20] “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्नेछौ।
[21] तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्।
[22] किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।
[23] हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ।
[24] तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
[25] “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्।
[26] संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
[27] त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।
[28] जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।”
[29] उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।
[30] जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।
[31] त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान।
[32] “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
[33] आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
[34] “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्कासि आइपर्ला।
[35] किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ।
[36] तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
[37] येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,
[38] सबै मानिसहरू उहाँको वचन सुन्नलाई बिहानै मन्दिरमा आउँथे।