Skip to content
Opens in a new window
Listen to this chapter • 4:54

[1] येशूको वचन सुन्‍नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए।

[2] तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”

[3] तब येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो:

[4] “मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?

[5] अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ।

[6] त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’

[7] म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।

[8] “अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र?

[9] अनि जब उसले त्यो सिक्‍का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु।’

[10] म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”

[11] येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए।

[12] कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।

[13] “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।

[14] त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुन थाल्यो।

[15] यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो।

[16] त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो।

[17] “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु!

[18] अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु।

[19] म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’

[20] अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।

[21] “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’

[22] “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।

[23] पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ।

[24] किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।

[25] “त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो।

[26] त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो।

[27] त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’

[28] “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले।

[29] तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्‍लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन।

[30] तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’

[31] “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।

[32] तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ”

लूका — Chapters