Skip to content
Opens in a new window
Listen to this chapter • 4:36

[1] सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा,

[2] हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए।

[3] त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे।

[4] तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।

[5] तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए।

[6] साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए।

[7] हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);

[8] अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ।

[9] तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।

[10] तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू।

[11] सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।”

[12] दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए।

[13] मोशाको व्यवस्थाअनुसार शब्बाथका दिनहरू, औँसी र वर्षमा तीनपल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे।

[14] आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो।

[15] राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्।

[16] याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो।

[17] तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए।

[18] हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।

2 इतिहास — Chapters