[1] जब उत्सव सकियो, तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका नगरहरूमा गएर चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए; अनि अशेरा देवीका खम्बाहरू ढालिदिए। तिनीहरूले समस्त यहूदा र बेन्यामीन, एफ्राइम र मनश्शेका अग्ला देवस्थान र वेदीहरू भत्काइदिए। यी सबै गरिसकेपछि प्रत्येक इस्राएली आ-आफ्नो नगर र पैतृक भूमिमा फर्के।
[2] हिजकियाहले पुजारीहरू र लेवीहरूका प्रत्येकलाई तिनीहरूका पुजारी र लेवीहरूका कर्तव्यअनुसार होमबलि र मेलबलिहरू चढाउन, धन्यवाद चढाउन; अनि सेवा गर्नलाई याहवेहको वासस्थानका मूलढोकाहरूमा प्रशंसा-स्तुतिहरू गाउने काममा दल-दल गरेर खटाइदिए।
[3] राजाले आफ्नै सम्पत्तिबाट याहवेहको व्यवस्थामा लेखिएअनुसार बिहान र बेलुकाका होमबलि र शब्बाथहरू, औँसीहरू र तोकिएका चाडहरूका निम्ति भेटी दिए।
[4] पुजारीहरू र लेवीहरूले आफूलाई याहवेहको व्यवस्थाका निम्ति अर्पण गर्न सकून् भनेर राजाले यरूशलेममा बस्ने मानिसहरूलाई पुजारीहरू र लेवीहरूको भाग दिनू भनेर हुकुम गरे।
[5] त्यो हुकुम हुनेबित्तिकै इस्राएलीहरूले उदार चित्तले आफ्ना अन्न, नयाँ दाखमद्य, जैतुनको तेल, मह र खेतले उब्जाएका सबै कुराको पहिलो फल दिए। तिनीहरूले हरेक कुराको प्रशस्त मात्रामा दशांश ल्याए।
[6] यहूदाका नगरहरूमा बस्ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए।
[7] तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए।
[8] जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए।
[9] हिजकियाले ती थुप्राहरूको विषयमा पुजारीहरू र लेवीहरूलाई सोधे,
[10] र सादोकको परिवारबाटका मुख्य पुजारी अजर्याहले जवाफ दिए, “मानिसहरूले आफ्ना भेटीहरू याहवेहको मन्दिरमा ल्याउन थालेदेखि हामीसित खानलाई प्रशस्त छन् र प्रशस्त उब्रन्छन्। किनकि याहवेहले उहाँका मानिसहरूलाई आशिष् दिनुभएको छ, र धेरै मात्रामा उब्रेका पनि छन्।”
[11] हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए।
[12] तब तिनीहरूले विश्वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए।
[13] राजा हिजकिया र परमेश्वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए।
[14] लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए।
[15] अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले तिनीहरूका सङ्गी पुजारीहरूका सहरहरूमा तिनीहरूका दल-दलअनुसार, तिनीहरूका बुढापाका र जवानहरूलाई विश्वासयोग्य रूपले बाँड्नलाई लेवी कोरेलाई सहायता गरे।
[16] यसबाहेक तिनीहरूले वंशावलीमा नाम दर्ता भएका तीन वर्ष उमेर पुगेका र त्योभन्दा माथिकालाई आफ्ना जिम्मेवारी र दलहरूअनुसार तिनीहरूका विभिन्न कामहरूका जिम्मेवारी दिनहुँ निभाउनका लागि याहवेहको मन्दिरभित्र प्रवेश गर्नेहरूलाई पनि बाँडिदिए।
[17] तिनीहरूले आफ्ना परिवारहरूका वंशावलीमा नाम दर्ता गराइदिएका र बीस वर्षभन्दा माथिका लेवीहरूलाई तिनीहरूका जिम्मेवारी र दलअनुसारका पुजारीहरूलाई बाँडिदिन्थे।
[18] तिनीहरूले सबै बालबच्चा, पत्नी र यी वंशावलीहरूमा सूचित भएका सम्पूर्ण समाजका छोराछोरीहरूलाई पनि सामेल गराए। किनकि तिनीहरू आफूलाई पवित्र पार्नमा विश्वासयोग्य थिए।
[19] सहरहरूका चारैतिर भएका खेतीका जमिनहरूमा बस्ने अथवा कुनै सहरमा बस्ने हारूनका वंशका पुजारीहरू, हारूनका सन्तानहरूका निम्ति चाहिँ तिनीहरूका बीचमा भएका हरेक पुरुष र लेवीका वंशावलीहरूमा दर्ता भएअनुसार सबैका भागहरू बाँडिदिन नामद्वारा तोकिएका मानिसहरू खटाइएका थिए।
[20] हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे।
[21] परमेश्वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्नति भयो।