[1] हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए।
[2] राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे।
[3] पर्याप्त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्।
[4] यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो।
[5] तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।
[6] राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो: “इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्।
[7] तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति विश्वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो।
[8] तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्।
[9] यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।”
[10] ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे।
[11] तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए।
[12] यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
[13] दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो।
[14] तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
[15] तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए।
[16] तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के।
[17] त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो।
[18] एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्,
[19] जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।”
[20] याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
[21] यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
[22] हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
[23] त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए।
[24] यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए।
[25] पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्ने परदेशीहरू पनि सामेल थिए।
[26] इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो।
[27] पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।