Skip to content
Opens in a new window
Listen to this chapter • 4:55

[1] सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।

[2] जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए।

[3] यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:

[4] “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”

[5] रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले।

[6] तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”

[7] तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।”

[8] तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।

[9] तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”

[10] तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।

[11] मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’

[12] “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।

[13] राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे।

[14] तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”

[15] यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्‍वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।

[16] जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए।

[17] तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।

[18] राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।

[19] यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।

2 इतिहास — Chapters