[1] यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे।
[2] केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए।
[3] इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई सोधे, “के तपाईं रामोत-गिलादको विरुद्धमा आक्रमण गर्न मसित जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। हामी तपाईंलाई युद्धमा साथ दिनेछौँ।”
[4] तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।”
[5] यसकारण इस्राएलका राजाले चार सय अगमवक्ताहरूलाई एकसाथ भेला गराए, र तिनीहरूलाई सोधे, “हामी रामोत-गिलादको विरुद्धमा युद्धमा जाऔँ कि नजाऔँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमेश्वरले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
[6] तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”
[7] इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्नुहुँदैन।”
[8] यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्लाका छोरा मीकायालाई लिएर आऊ।”
[9] आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।
[10] केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्नेछौँ।’ ”
[11] अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
[12] मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”
[13] तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्वरले भन्नुभएको कुरा मात्र भन्नेछु।”
[14] तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।”
[15] राजाले तिनलाई भने, “याहवेहको नाममा मलाई सत्यबाहेक केही नभन्नू भनी म तिमीलाई कति पटक शपथ खान लाऊँ?”
[16] तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”
[17] इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
[18] मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।
[19] तब याहवेहले भन्नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
[20] आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’
[21] “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
[22] “यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
[23] तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”
[24] मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”
[25] तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू।
[26] अनि भन्नू, ‘राजा यसो भन्नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”
[27] मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”
[28] यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।
[29] इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।
[30] अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
[31] रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो।
[32] ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए।
[33] तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड हानिपठाउँदा त्यसले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। राजाले रथ हाँक्नेलाई भने, “रथ फर्काएर मलाई लडाइँदेखि बाहिर लैजा। मलाई चोट लागेको छ।”
[34] लडाइँ दिनभरि नै मच्चिरह्यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे।