[1] हिजकियाले पूर्ण विश्वासयोग्यतामा सबै काम गरिसकेपछि अश्शूरका राजा सनहेरीब आए र यहूदामाथि आक्रमण गरे। तिनले सुरक्षित सहरहरूलाई आफ्ना निम्ति जित्ने विचारले ती सहरहरू घेरे।
[2] सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने।
[3] तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्लाह लिए; अनि तिनीहरूले उनलाई सघाए।
[4] मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?”
[5] तब तिनले कठोर परिश्रमसाथ पर्खालका भत्किएका भागहरू मर्मत गरे; अनि तीमाथि धरहराहरू निर्माण गरे। तिनले त्यस पर्खालबाहिर अर्को पर्खाल बनाए, र दावीदको सहरका छानाहरूलाई बलियो पारे। तिनले धेरै मात्रामा भाला र ढालहरू पनि बनाए।
[6] तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ।
[7] अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ।
[8] तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए।
[9] त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए:
[10] “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ?
[11] जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्।
[12] के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र?
[13] “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए?
[14] मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्?
[15] अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!”
[16] सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले।
[17] राजाले याहवेह इस्राएलका परमेश्वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।”
[18] तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे।
[19] यरूशलेमका परमेश्वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने।
[20] राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे।
[21] तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए।
[22] यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो।
[23] धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले।
[24] ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो।
[25] तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्यो।
[26] तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन।
[27] हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए।
[28] तिनले अन्नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए।
[29] तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्त गरे; किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।
[30] गीहोनको पानीको मूलको माथिल्लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे।
[31] तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्वरले तिनका मनमा रहेका सबै कुरा जान्नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो।
[32] हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
[33] हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।