[1] अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्यो।
[2] आसाले याहवेह तिनका परमेश्वरको दृष्टिमा जे असल र ठिक थियो, त्यही गरे।
[3] तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू काटेर ढालिदिए।
[4] तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए।
[5] तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्यो।
[6] देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो।
[7] तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्त गरे।
[8] आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए।
[9] कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे।
[10] आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।
[11] तब आसाले याहवेह तिनका परमेश्वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।”
[12] याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे।
[13] आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए।
[14] तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे।
[15] तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के।