Skip to content
Opens in a new window
Listen to this chapter • 4:27

[1] आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए।

[2] तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे।

[3] याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्।

[4] तर आफ्ना पिताका परमेश्‍वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे।

[5] याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो।

[6] तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।

[7] आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।

[8] तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए।

[9] तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।

[10] यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्।

[11] केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।

[12] यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्‍लाहरू र भण्डार गर्ने सहरहरू बनाए

[13] यहूदाका सहरहरूमा धेरै खाद्यान्‍न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे।

[14] परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: यहूदाबाट दलका सेनापतिहरू एक हजार: सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए;

[15] त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए।

[16] त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।

[17] बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए।

[18] त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए।

[19] राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए।

2 इतिहास — Chapters