Skip to content
Opens in a new window
Listen to this chapter • 4:58

[1] जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।

[2] तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो:

[3] “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्,

[4] ‘याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के।

[5] रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे:

[6] बेथलेहेम, एताम, तको,

[7] बेथ-सूर, सोको, अदुल्‍लाम,

[8] गात, मारेशा, जीप,

[9] अदोराइम, लाकीश, अजेका,

[10] सोरा, अय्यालोन र हेब्रोन, जो यहूदा र बेन्यामीनमा भएका सुरक्षित सहरहरू थिए।

[11] तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए।

[12] तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए।

[13] तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्‍लाहरूबाट तिनीकहाँ हाजिर भए।

[14] लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।

[15] तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए।

[16] आफ्ना हृदय याहवेह इस्राएलका परमेश्‍वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे।

[17] तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।

[18] रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्।

[19] महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम।

[20] तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।

[21] रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।

[22] रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।

[23] तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्‍लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए।

2 इतिहास — Chapters