Skip to content
Opens in a new window
Listen to this chapter • 4:10

[1] जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्‍वरको मन्दिरका भण्डारहरूमा राखे।

[2] तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए।

[3] इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए।

[4] इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए।

[5] तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए।

[6] सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।

[7] त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।

[8] सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।

[9] ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।

[10] त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।

[11] त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए।

[12] सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए।

[13] तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो;

[14] अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्‍वरको मन्दिर याहवेहको महिमाले भरियो।

2 इतिहास — Chapters