Skip to content
Opens in a new window
Listen to this chapter • 10:48

[1] राजा हुँदा हिजकिया पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।

[2] आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

[3] आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे।

[4] तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए,

[5] र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ।

[6] हाम्रा पुर्खाहरू विश्‍वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए।

[7] तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्।

[8] यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ।

[9] यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्।

[10] उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।

[11] मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्‍नुभएको छ।”

[12] तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन;

[13] एलीशापानका सन्तानहरूबाट: शिम्री र यीएल; आसापका सन्तानहरूबाट: जकरिया र मत्तन्याह;

[14] हेमानका सन्तानहरूबाट: यहीएल र शिमी; यदूतूनका सन्तानहरूबाट: शमायाह र उज्जीएल।

[15] तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे।

[16] पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे।

[17] पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।

[18] तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ।

[19] राजा हुँदा आहाजले आफ्नो अविश्‍वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।”

[20] भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए।

[21] तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे।

[22] यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए।

[23] पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे।

[24] त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्‍चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए।

[25] तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो।

[26] यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए।

[27] हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो।

[28] सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्‍त नभएसम्म यस्तो भइरह्‍यो।

[29] भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे।

[30] राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे।

[31] तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए।

[32] समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए।

[33] बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए।

[34] तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्‍त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए।

[35] त्यहाँ होमबलि पर्याप्‍त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो।

[36] परमेश्‍वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो।

2 इतिहास — Chapters