[1] आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
[2] तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए।
[3] तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
[4] तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार सहरहरू जिते।
[5] यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए।
[6] राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे।
[7] त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो।
[8] के कूशी र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।
[9] किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
[10] यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे।
[11] आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
[12] तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे।
[13] तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते।
[14] मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।