[1] परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो।
[2] तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।
[3] धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो।
[4] तर जब तिनीहरू आफ्नो सङ्कष्टमा याहवेह, इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो।
[5] ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।
[6] परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।
[7] तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”
[8] आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
[9] त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।
[10] तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए।
[11] त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए।
[12] तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोजी गर्न भनी करार बाँधे।
[13] याहवेह, इस्राएलका परमेश्वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो।
[14] तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए।
[15] तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
[16] राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
[17] तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
[18] तिनले परमेश्वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
[19] आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।