[1] परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावल, अनि हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र सन्तहरूलाई:
[2] हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्।
[3] हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता, अनि सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ,
[4] जसले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौं।
[5] किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौं, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
[6] यदि हामी यातनामा पर्छौं भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो, यदि हामीले सान्त्वना पाउँछौं भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका तिनै कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ।
[7] अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ, किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौं।
[8] हे दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले एशियाको प्रान्तमा भोगेका कष्टहरूबारे तिमीहरू अन्जान रहो भनी हामी चाहन्नौं। हामीले सहन नसक्ने किसिमको कष्टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्ने हौं कि होइनौ भनी निश्चित थिएनौं।
[9] निश्चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौं। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौं भनेर नै हो।
[10] उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, र परमेश्वरले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौं।
[11] तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्।
[12] अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्वरीय सत्यतामा व्यवहार गरेका छौं। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहद्वारा यसो गरेका छौं।
[13] किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौं। अनि म आशा गर्दछु, कि
[14] जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, जसमा तिमीहरूले हामीबारे गर्व गर्नेछौ, जसरी हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौं।
[15] अनि मलाई यस विषयमा निश्चय भएकोले मैले पहिला तिमीहरूकहाँ आउने योजना बनाएँ, जसमा तिमीहरूलाई दोहोरो फाइदा होस्।
[16] म्यासिडोनिया जाँदा तिमीहरूकहाँ जाने, अनि म्यासिडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएँ।
[17] के यो योजना मैले शङ्कालु मनले बनाएँ? अथवा के म आफ्नो योजना मानवीय ढङ्गले एउटै मुखले “हो-हो” वा “होइन-होइन” भन्दै बनाउँछु र?
[18] तर निश्चय नै परमेश्वर विश्वासयोग्य हुनुभएकोले, एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको होइन।
[19] किनकि परमेश्वरको पुत्र येशू ख्रीष्ट, जो म, सिलास र तिमोथीद्वारा तिमीहरूमा प्रचारिनुभयो, उहाँमा कहिले “हो” र कहिले “होइन” भन्ने हुँदैन, तर उहाँमा सदा “हो” नै थियो।
[20] किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाको निम्ति उहाँद्वारै हामीबाट “आमेन” भनिएको छ।
[21] अब परमेश्वरले नै हामी अनि तिमीहरूलाई ख्रीष्टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ,
[22] र उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप हामीमा लगाउनुभएको छ; अनि अब के हुन आउनेछ भन्ने पक्का गरेर, पहिलो किस्ता स्वरूप हाम्रा हृदयमा उहाँको आत्मा दिनुभएको छ।
[23] तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, अनि जसको लागि म परमेश्वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
[24] हामी तिमीहरूको विश्वासमाथि अधिकार जमाउँदैनौं, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौं, किनभने विश्वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा रहन्छौ।