Skip to content
Opens in a new window
Listen to this chapter • 3:23

[1] प्रभुका जनहरूका लागि यो आर्थिक सङ्कलनबारे मैले तिमीहरूलाई लेख्न खाँचो छैन।

[2] मलाई तिमीहरूको सह विश्‍वासीहरूलाई मदत गर्ने उत्सुकता थाहा छ, अनि बितेको वर्षदेखि तिमी अखैयामा हुनेहरूले दिन तयार थियौ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै नै काम गर्न तम्सेका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।

[3] तर तिमीहरूबारे यस विषयमा हाम्रो गर्व खोक्रो नहोस्, तर तिमीहरू तयार रहनेछौ भनी मैले भनेझैं तिमीहरू तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।

[4] किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा तिमीहरू तयार नरहेको भेट्टाए भने ता तिमीहरूको शर्मकोबारेमा केही भन्‍न नसकेर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी शर्ममा पर्नेछौं।

[5] यसकारण यी भाइहरूलाई तिमीहरूकहाँ अघिबाट नै पठाउने आग्रह गरेर तिमीहरूले प्रतिज्ञा गरेका उदारपूर्ण भेटीको प्रबन्ध गरिहाल भन्‍न मलाई आवश्यक लाग्यो। तब यो चित्त दुखाउँदै दिएको भेटीको रूपमा नभई उदारपूर्ण भेटीको रूपमा तयार होस्।

[6] यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, अनि प्रशस्ततासाथ छर्नेले प्रशस्तताको साथ कटनी गर्नेछ।

[7] प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, मन नगरी-नगरी अथवा करले होइन, किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।

[8] अनि परमेश्‍वरले तिमीहरूलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, ताकि सबै कुरामा, सबै समय, तिमीहरूलाई चाहिएका सबै थोक पाएर तिमीहरू प्रत्येक असल काममा प्रशस्त होओ।

[9] जसरी धर्मशास्त्रमा लेखिएको छ: “उनले गरिबहरूका बीचमा आफ्ना भेटीहरू छरेका छन्, उनको धार्मिकता सदा-सर्वदा रहिरहन्छ।”

[10] अब जसले बीउ छर्नेलाई बीउ र खानलाई रोटी दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बीउको भण्डार दिएर त्यसको वृद्धि गरिदिनुहुन्छ, अनि तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।

[11] हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी हुनेछौ, अनि हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई धन्यवाद हुनेछ।

[12] तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउने कुरा हो।

[13] तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्, किनभने तिमीहरू ख्रीष्‍टको सुसमाचारप्रति आज्ञाकारी भयौ र तिमीहरूले तिनीहरू र सबै अरूहरूप्रति तिमीहरूको उदारता देखायौ।

[14] अनि परमेश्‍वरले तिमीहरूलाई दिनुभएको अत्याधिक अनुग्रहको कारण तिनीहरूले गहिरो स्‍नेहको साथ तिमीहरूको लागि प्रार्थना गर्नेछन्।

[15] परमेश्‍वरलाई उहाँको वर्णन नै गर्न नसकिने दानको निम्ति धन्यवाद होस्!

2 कोरिन्थी — Chapters