[1] परमेश्वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौं।
[2] किनकि उहाँ भन्नुहुन्छ, “मेरो निगाहको समयमा मैले तिम्रो पुकारा सुनें, अनि मुक्तिको दिनमा मैले तिमीलाई मदत गरें।” म तिमीलाई भन्दछु, परमेश्वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।
[3] हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राखिदिँदैनौं।
[4] बरु परमेश्वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौं: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा अनि सङ्कष्टहरूमा,
[5] पिटाइहरूमा, कैद र हूलदङ्गाहरूमा; कठोर परिश्रममा, निद्राविहीन रातहरूमा अनि भोकमा
[6] शुद्धतामा, समझमा, धीरज र दयामा, पवित्र आत्मामा अनि निष्कपट प्रेममा,
[7] सत्य वचनमा, अनि परमेश्वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने अनि देब्रे हातमा लिएर
[8] आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य;
[9] नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, र पनि बाँचेका; पिटिएका जस्ता, र पनि नमारिएका,
[10] दुःखले पूर्ण भएका जस्ता, र पनि सधैं आनन्दित हुने, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउने, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौं।
[11] हे कोरिन्थवासीहो, हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, अनि तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौं।
[12] हामीले आफ्नो स्नेह तिमीहरूदेखि रोकिराखेका छैनौं, तर तिमीहरूले चाहिँ आफ्नो स्नेह हामीबाट रोकिराखेका छौ।
[13] म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्छु, तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैं हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।
[14] अविश्वासीहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?
[15] ख्रीष्ट र शैतानको के मेल हुन्छ र? एकजना विश्वासी अनि अविश्वासीमा के समानता हुन्छ र?
[16] परमेश्वरको मन्दिर र मूर्तिको के मेल हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौं। जसरी परमेश्वरले भन्नुभएको छ: “म तिनीहरूसँग बस्नेछु, अनि तिनीहरूसित हिँड्डुल गर्नेछु, अनि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”
[17] यसकारण “तिनीहरूका बीचबाट निस्किआओ, अनि अलग होओ, प्रभु भन्नुहुन्छ। अशुद्ध थोक नछोओ, अनि म तिमीहरूलाई ग्रहण गर्नेछु।”
[18] र “सर्वशक्तिमान प्रभु भन्नुहुन्छ, म तिमीहरूका बुबा हुनेछु, अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”