[1] यसकारण मैले तिमीहरूलाई कष्ट पुर्याउने किसिमले दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै निश्चय गरें।
[2] किनकि यदि मैले तिमीहरूलाई दुःखी बनाएँ भने, तिमीहरूबाहेक कसले मलाई खुशी बनाउने, तिमीहरू नै होइनौ जसलाई मैले दुःखित बनाएँ?
[3] अनि जसरी मैले अघिल्लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै दुःखित हुन नपरोस्। तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि तिमीहरू सबै रमाउनुमा नै मेरो आनन्द छ।
[4] तिमीहरूलाई शोकित तुल्याउनलाई होइन, तर तिमीहरूप्रति मेरो प्रेमको गहिराइ तिमीहरूले बुझ भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदनामा र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
[5] म कडिकडाउसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने, त्यसले मलाई दुःखित तुल्याएको छैन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
[6] यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ।
[7] अनि अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।
[8] यसकारण तिमीहरूले ऊप्रति तिमीहरूको प्रेम फेरि पक्का गर भनी म आग्रह गर्दछु।
[9] मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी बन्छौ कि भनेर जान्नलाई हो।
[10] तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यसलाई क्षमा दिनेछु; अनि यदि त्यस्तो केही छ, र मैले क्षमा दिएको छु भने, त्यो मैले ख्रीष्टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
[11] जसमा शैतानले हामीलाई धोका नदेओस्। किनकि हामी त्यसका युक्तिहरूदेखि अन्जान छैनौं।
[12] जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस गएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको भेट्टाएँ।
[13] मैले मेरा भाइ तीतसलाई त्यहाँ नपाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
[14] तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको विजयको यात्रामा डोर्याउनुहुन्छ, अनि हामीद्वारा नै उहाँको ज्ञानको सुवास्ना चारैतिर फिँजाउनुहुन्छ।
[15] किनकि उद्धार पाइरहेकाहरू अनि नष्ट भइरहेकाहरूका बीचमा हामी परमेश्वरको निम्ति ख्रीष्टको सुवास्ना हौं।
[16] नष्ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन अनि उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?
[17] अरू कतिझैं हामी परमेश्वरको वचनलाई लाभको निम्ति व्यापार गर्ने होइनौं। यसको विपरीत परमेश्वरबाट पठाइएका मानिसहरूझैं हामी परमेश्वरको सामु ख्रीष्टमा छलरहित कुरा बोल्दछौं।