[1] अब हे दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौं।
[2] तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए।
[3] किनकि म यो साक्षी दिन्छु, कि तिनीहरूले दिनसक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए।
[4] प्रभुका जनहरूको सेवाको लागि रकम दिने सौभाग्य पाओं भनी हामीसित तिनीहरूले खुरन्धार विन्ती गरे।
[5] अनि तिनीहरूले हामीले आशा गरेभन्दा ज्यादा गरे: तिनीहरूले आफूहरूलाई पहिले प्रभुकहाँ समर्पण गरे, र त्यसपछि परमेश्वरको इच्छाअनुसार हामीकहाँ पनि आफूलाई समर्पण गरे।
[6] यसकारण तीतसले पहिलेबाटै दान उठाउने काम थालेका हुनाले हामीले तिनलाई तिमीहरूको रकम सङ्कलनको काम पूरा गरून् भनी आग्रह गर्यौं।
[7] अनि तिमीहरूले प्रत्येक कुरामा, विश्वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा अनि हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्ठता देखाएझैं तिमीहरूले दिने काममा पनि सर्वश्रेष्ठता देखाओ।
[8] म तिमीहरूलाई आज्ञा त दिन्नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु।
[9] किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, कि उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो; ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
[10] अनि तिमीहरूको लागि के चाहिँ उत्तम होला भनेर यस विषयमा एउटा सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिनलाई मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम् थियौ।
[11] अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्।
[12] किनकि इच्छा छ भने, ऊसित नभएअनुसार होइन, तर ऊसित भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।
[13] हाम्रो इच्छा यो होइन कि तिमीहरूमाथि बढी बोझ थपेर अरूलाईचाहिँ हल्का होस्, तर समानता होस् भन्ने हो।
[14] वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ,
[15] जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेसित अति ज्यादा भएन, अनि कम बटुल्नेसित अति थोरै पनि भएन।”
[16] परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो।
[17] किनकि तीतसले हाम्रो विन्ती सुन्ने मात्र होइन, तर तिनी आफ्नै पहलमा खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्।
[18] अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौं, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्।
[19] अनि अझ बढी, हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई चुनेका छन्। जुन हामीले स्वयम् प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौं।
[20] यस उदारपूर्ण भेटीलाई हामी कसरी चलाउँछौं, यसबारे हामी कुनै आलोचना सुन्न चाहँदैनौं।
[21] किनकि परमेश्वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्ने कष्ट हामीले उठाइरहेका छौं।
[22] यसबाहेक हामी तिनीहरूसित हाम्रा एक भाइलाई पठाउँदैछौं, जसले उनी जोशिला छन् भन्ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ।
[23] तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू अनि ख्रीष्टको निम्ति सम्मान हुन्।
[24] यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।