[1] अब हामी जान्दछौं, कि हामी बस्ने पृथ्वीको डेरा भत्किगएपछि हाम्रो लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्वरबाटको हो।
[2] अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौं भनेर सुस्केरा हाल्छौं,
[3] किनकि त्यसलाई धारण गर्यौं भने हामी नाङ्गो देखिनेछैनौं।
[4] अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौं, किनकि हामी वस्त्र फुकालिएका होइन, तर हाम्रा स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौं, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।
[5] अब परमेश्वरले नै हामीलाई यो विशेष उद्देश्यको लागि बनाउनुभएको हो, अनि के हुन आउनेछ, त्यसको पहिलो किस्ता स्वरूप परमेश्वरको आत्मा दिनुभएको छ।
[6] यसकारण हामी निश्चित छौं र जान्दछौं, कि जबसम्म हामी शरीरको वासस्थानमा छौं, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौं।
[7] हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौं।
[8] हामी निश्चित छौं, र म भन्दछु, कि हामी यस शरीरदेखि टाढा रहेर प्रभुसित नै रहन चाहन्छौं।
[9] यसकारण हामी शारीरिक डेरामै रहौं, अथवा यसदेखि टाढा रहौं, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौं।
[10] किनकि हामीले यस शरीरमा हुँदा, असल कि खराब जे गरेका छौं, त्यसको फल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
[11] तब परमेश्वरको डर मान्नु के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँन चाहन्छौं। हामी जे छौं, त्यो परमेश्वरलाई थाहा छ, अनि म आशा गर्छु, कि तिमीहरूको विवेकलाई पनि थाहै होला।
[12] हामीले फेरि तिमीहरूको सामु आफ्नै तारीफ गर्ने चेष्टा गरिरहेका छैनौं, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौं।
[13] कसैले भनेजस्तै, यदि हाम्रो होश ठेगानमा छैन भने यो परमेश्वरको इच्छा पूरा गर्नको लागि हो; अनि यदि हामी होशमै छौं भने त्यो तिमीहरूको फाइदाको लागि हो।
[14] ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनकि हामीलाई यो पक्का छ, कि एकजना सबैको निम्ति मर्नुभएकोले नै सबै मरेका छन्।
[15] अनि उहाँ सबैको निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू आफ्नै लागि होइन, तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचून्।
[16] यसकारण अब उप्रान्त हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौं। एकपल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौं, तर अब त्यसो गर्नेछैनौं।
[17] यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; अब नयाँ आएका छन्।
[18] यी सबै परमेश्वरबाट नै हुन्, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, अनि हामीलाई मिलापको सेवा दिनुभएको छ,
[19] कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रीष्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनुभयो।
[20] परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैं हामी ख्रीष्टको निम्ति राजदूतहरू हौं। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौं: परमेश्वरसित मिलाप गर।
[21] हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता बनौं भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।