[1] यदि तिमीहरूलाई मेरा शब्दहरू मूर्खताजस्तो लाग्छ भने पनि सहिदिनेछौ भनेर म आशा गर्नेछु, त्यसो ता तिमीहरूले अहिले पनि मलाई सहिरहेका नै छौ।
[2] म तिमीहरूप्रति परमेश्वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु कि, मैले तिमीहरूलाई ख्रीष्टको सामु एकजना पतिलाई पवित्र दुलहीका रूपमा प्रस्तुत गर्न सकूँ भनेर वचन दिएको थिएँ।
[3] तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैं, कुनै प्रकारले तिमीहरूको मन पनि ख्रीष्टप्रतिको तिमीहरूको निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्ने मलाई डर लाग्छ।
[4] किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले पायौ, अथवा तिमीहरूले ग्रहण गरेका सुसमाचारबाहेक अर्को सुसमाचार पायौ भने, जसले जे भने तिमीहरू सोच्दै नसोची स्वीकार गर्दारहेछौ।
[5] तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर सम्झदिनँ।
[6] म एकजना तालिमप्राप्त वक्ताजस्तो ता नहूँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हर प्रकारले स्पष्ट गरिसकेका छौं।
[7] तिमीहरूलाई उच्च पारूँ भनेर परमेश्वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएकोमा मैले के गल्ती गरें र?
[8] तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले मैले तिनीहरूलाई लुटें।
[9] अनि जब म तिमीहरूसित हुँदा मलाई खाँचो परेको थियो, त्यस बेला म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको बोझ नहोस् भनी आफैलाई अलग राखें, अनि पछि पनि राख्नेछु।
[10] ममा ख्रीष्टको सत्यता भएझैं अखैयाको प्रान्तमा भएको कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन।
[11] किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ? म प्रेम गर्छु भनी परमेश्वर जान्नुहुन्छ!
[12] अनि तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु।
[13] किनकि यी मानिसहरूचाहिँ ख्रीष्टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्।
[14] तर यो केही अचम्म होइन, किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ।
[15] त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष लिएर आए भने यो कुनै अचम्मको कुरो होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुनेछ।
[16] म फेरि भन्दछु: कसैले मलाई मूर्ख नसम्झोस्। तर यदि सम्झन्छौ भने, मलाई मूर्खलाई ग्रहण गरेझैं ग्रहण गर, ताकि म थोरै भए पनि गर्व गर्न सकूँ।
[17] यस्तो प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर एउटा मूर्खको बोली हो।
[18] किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु।
[19] तिमीहरू धेरै बुद्धिमानी भएकाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ!
[20] वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ।
[21] म शर्मको साथ यो स्वीकार गर्छु, कि यस्ता कामको लागि हामी अति नै कमजोर थियौं। म मूर्खले झैं बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु।
[22] के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ!
[23] के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म ता झन् बढी हुँ (म पागलझैं बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, अनि बारम्बार मृत्युको मुखमा परेको छु।
[24] पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु।
[25] तीनपल्ट म लौरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाज डुब्ने दुर्घटनामा परेको छु; मैले एक रात एक दिन खुला समुद्रमा बिताएको छु।
[26] म लगातार यात्रामा अघि बढिरहेको छु। म नदीहरूको जोखिममा परें, डाँकूहरूको जोखिममा, आफ्नै देशवासीहरूको जोखिममा, गैरयहूदीहरूको जोखिममा, शहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा अनि झूटा भाइहरूको जोखिममा परेको छु।
[27] मैले कठोर परिश्रम गरेको छु; म नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, अनि धेरैपल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र प्रशस्त कपडाविना बसेको छु।
[28] यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु।
[29] को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? को पापमा पर्दा म व्याकुल हुँदिनँ र?
[30] यदि मैले गर्व गर्नु नै परेछ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
[31] सदा-सर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्वर पिताले जान्नुहुन्छ, कि मैले झूट बोलिरहेको छैनँ।
[32] दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस शहरमा पहरा राखेका थिए।
[33] तर तिनैले मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।