[1] यसकारण परमेश्वरको कृपाले हामीले यो सेवा पाएको हुनाले हामी हताश हुँदैनौं।
[2] बरु हामीले गुप्त अनि शर्म लाग्दा मार्गहरू त्यागेका छौं। हामी छल गर्दैनौं, न ता परमेश्वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौं। यसको विपरीत हामी परमेश्वरको दृष्टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौं।
[3] अनि यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्ट हुनेहरूको लागि मात्र लागेको हो।
[4] परमेश्वरको प्रतिरूप, ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस युगको देवले अविश्वासीहरूको मनलाई दृष्टिविहीन तुल्याइदिएको छ।
[5] किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौं, अनि हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौं।
[6] तर “अन्धकारमा ज्योति चम्कोस्,” आज्ञा गर्नुहुने परमेश्वरले, ख्रीष्टको अनुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभयो।
[7] तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउनलाई हामीसित यो धन माटाको भाँडामा छ।
[8] हामी चारैतिरबाट थिचिएका छौं, र पनि पिसिएका छैनौं; अन्योलमा परेका छौं, र पनि हताश भएका छैनौं;
[9] सताइएका छौं, तर त्यागिएका छैनौं; प्रहारद्वारा ढलेका छौं, तर नष्ट भएका छैनौं।
[10] हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैं आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौं।
[11] किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्टको निम्ति सधैं मृत्युको लागि सुम्पिएका छौं।
[12] यसरी हामी सधैं मृत्युको सामना गर्छौं, ताकि तिमीहरूले अनन्त जीवन प्राप्त गर्न सक।
[13] धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्वास गरें, र म बोलें।” त्यही विश्वासको आत्माद्वारा हामी पनि विश्वास गर्छौं, अनि बोल्छौं।
[14] किनकि हामी जान्दछौं, कि जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ, अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ।
[15] यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, जसमा धेरै मानिसहरूमा पुगिरहेको अनुग्रहले परमेश्वरको महिमाको लागि धन्यवाद पोखिनदेओस्।
[16] यसकारण हामी हरेस खाँदैनौं। किनकि हाम्रो र बाहिरी मनुष्यत्व नष्ट भए तापनि हामी भित्री मनुष्यत्वमा दिनानुदिन नयाँ हुँदै जाँदैछौं।
[17] किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हामीलाई अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन।
[18] यसकारण हामी आफ्ना आँखा देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा केन्द्रित गर्दछौं। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।